

विपन्न परिवारलाई जस्ताको छानो

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले अति विपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ ।
गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ । कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए ।
‘यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ’, प्रशासकीय अधिकृत निरौलाले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरूलाई जस्ताको छानो दिएका हौँ । दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले ७० लाख खर्च गरेका छौँ । छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ ।’
गाउँपालिकाले वडा नं १ र २ का आठ-आठ घर, वडा नं ३ मा पाँच घर, वडा नं ४ मा १२ घर, वडा नं ५ मा आठ घर, वडा नं ६ मा नौ घर, वडा नं ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं ८ मा पाँच घर र वडा नं ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो ।
वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी भएका छन् । बर्र्सातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी–१ की स्थानीय चिनिमाया खड्काले बताए । ‘फुसको छानो हुँदा धेरै समस्या थियो’, उनले भने, ‘म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थे । छानो पाएपछि मलाई धेरै सहज भएको छ ।’
आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत नौवटै वडाका नागरिकलाई जस्ताको छानो दिएको छ ।
केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफैँ बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।यो आव र आगामी वर्षको लागिसमेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनले बताए । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ ।
‘हामीले यहाँका विपन्न परिवारको फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘फुसको छानो हटाउने केन्द्र सरकारको पनि कार्यक्रम छ तर हाम्रो गाउँपालिकामा यो बजेट निरन्तररुपमा आएको छैन । बजेटमा निरन्तरता नभएपछि गाउँपालिकाले नै फुसको छानो हटाएका छौँ ।’
केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने शीर्षकको बजेट यो आव र आगामी आवमा समेत शून्य रहेको अध्यक्ष राईले बताउनुभयो । केन्द्रको बजेटले यो गाउँपालिकालाई प्राथमिकतामा नराखेपछि आफैँले कार्यक्रम ल्याएर जनताको फुसको छानो हटाएको उनको भनाइ छ ।
‘हाम्रो गाउँपालिकामा फुसको छानो हटाउने केन्द्र सरकारको कार्यक्रमको बजेट नआएको अवस्था छ’, उनले भने, ‘मैले धेरै ठाउँमा यो विषय उठाएको पनि छु । तर पनि कार्यान्वयन भएको अवस्था छैन । आगामी वर्षलाई फुसको छानोको लागि हाम्रो गाउँपालिकामा बजेट आएको छैन । केन्द्रबाट बजेट नआए पनि यो कार्यक्रमलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ । वित्तीय समानीकरणको बजेट घटेको कारण यो वर्ष निरन्तरता दिन सकिएन ।’
बर्सातको समयमा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । वडाका अति विपन्न, एकल महिला, दलित आर्थिक रूपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ ।
स्थानीय तह सञ्चालनमा आएपश्चात् विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय ८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत दश र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत एक सय छ गरी हालसम्म चार सय पाँच परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ ।

