पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क चर्को भएको व्यवसायीको गुनासो


पोखरा – पोखरामा व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क चर्काे गुनासो गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघसहितको टोलीले विमानस्थलका प्रमुख विक्रम गौतमलाई सोमबार ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थलमा पार्किङ शुल्क चर्काे भएको भन्दै घटाउन माग गरेका हुन् ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधिमण्डले पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको गुनासो गरे ।

विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग यस संघको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधाहरु साँच्चिकै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुयाउन जाँदा बिदाई र पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

‘विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुन्छ नै । यसो भनिरहँदा सो सेवा सस्तो, सुलभ एवं नागरिक मैत्री हुनैपर्छ । यसका अलावा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि हाम्रो उत्तिकै चासो रहेको व्यहोरा पनि यहाँलाई स्मरण गराउँछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै विमानस्थल प्रमुख विक्रम गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकार गरे । विमानस्थल प्रशासन यात्रु ल्याउने-लैजाने कार्यमा सहजीकरण गर्न तयार रहेको राजमार्गसम्म निशुल्क वा सशुल्क बस सेवा संचालन गर्ने तयारीमा रहेको विमानस्थल प्रमुख सुनाए ।

प्रतिक्रिया