नेपालको रेल्वे विस्तारमा लगानी गर्न रसिया इच्छुक


काठमाडौं – नेपालको रेल्वे विस्तारमा लगानी गर्न रसिया इच्छुक भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ताका क्रममा नेपालको रेल्वे विस्तारमा रसिया लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।

सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटर्वार्तामा रसियन रेल्वेको तर्फबाट मन्त्रालयमा आशय पत्र समेत बुझाइएको छ ।

भेटमा मन्त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देश बीचमा समन्वयन भइ कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए ।

उनले काठमाडौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै हाल मेट्रो रेलको रेखाङ्कन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उनको भनाई छ ।

रसिया र अन्य विश्वको विभिन्न मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुंगा हुने रसियन प्रतिनीधि मण्डलले उल्लेख गरेका छन् ।

पहाडी इलाकामा रसियन रेल्वे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनीधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

भेटमा द्धिपक्षिय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भयो ।

भेटघाटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी थिए ।

प्रतिक्रिया