अर्कैका ३ सन्तानलाई नागरिकता बनाइदिन खोज्ने दम्पती बुटवलबाट पक्राउ


बुटवल – अर्कैका ३ छोराछोरीलाई नागरिकता दिलाउने प्रयास गरेको अभियोगमा बुटवलबाट एक दम्पती पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा–छोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ ।

प्रतिक्रिया