यो सरकार दृढता भएको केही गरौं भन्ने सरकार हो: प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले  उत्पादन बढाउने र रोजगारी सृजनागर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित  राष्ट्रिय उद्योग ब्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘सकेसम्म हाम्रा जमिन,जंगल, जडिबुटी आदिको कसरी अधिकतम् सदुपयोग  गर्न सकिन्छ । त्यता पट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो’, उनको भनाई थियो ।

प्रधानमन्त्रीले कोभिड—१९का कारण प्रतिकुल असर परेका बेला कुनै–कुनै क्षेत्रले अधिकलाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताए । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको भनाई थियो ।

कोभिड–१९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्रीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे । पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनको भनाई थियो । ‘पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपि ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया