चुनावको पक्षमा देखिए कांग्रेस सभापति देउवा, निर्वाचन आयोगमाथि शंका


काठमाडौं– प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने विधि अन्तर्गत निर्वाचन आयोगले चुनावी कार्यकतालिका प्रकाशित नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि पोखेका छन्।

सोमबार रुपन्देहीमा भएको सभालाई सम्बोधन गर्ने क्रममा देउवाले भने,‘चुनावको तयारी निर्वाचन आयोगले गर्नुपर्छ, अदालतको निर्णय पर्खिने होइन। संसद पुनःस्थापना भए चुनाव रोक्ने, नभए चुनाव गर्नुपर्छ।’

निर्वाचन आयोगले चुनाव गर्न नचाहेको भन्ने आशंका देउवाको छ। उनले त्यसमा जोड दिँदै भने,‘नेकपाको सूर्य चिन्हको पनि फैसला गरेको छैन, चाँडो निर्णय दियोस्।’

उनले अगाडि भने,‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने तर्क देउवाको थियो। त्यहिनुसार १७ र २७ वैशाखका लागि सरकारले चुनाव गराउने घोषणा र निर्णय पनि गरिसकेको छ। तर, देउवा भन्छन्,‘निर्वाचन आयोगले कार्यक्रम ल्यायो त? चाँडो चुनावी कार्यक्रम ल्याओस्।’

उनले कसैको बहकाईमा आएर कांग्रेस सडकमा नजाने दाबी गरे। अदालतको फैसलालाई कांग्रेसले मान्ने बताएका उनले आन्दोलनमा गए पनि एक्लै जाने बताए। भाषणका क्रममा बारम्बार निर्वाचनको जिकीर गरेका उनले चुनावी तयारीमा नै लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया