पत्रकार कार्की र पन्तलाई ‘इञ्जा’ अवार्ड


काठमाडौं – नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ।

एक लाख रुपैयाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो। पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए।

समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानविन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैं भत्ता फिर्ता गर्न बाध्य भएका थिए।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येबाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो।​ सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए। उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन्।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारितावाट करियर सुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन्।

मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने छ। ​ इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार मंगलबार घोषणा गरिने इञ्जाले जानकारी गराएको छ।

प्रतिक्रिया