
एकीकृत समाजवादीले पनि बजेटकै पक्षमा मत दिने
काठमाडाैं – आजको कार्यसूचीमा रहेको बजेट पारित गर्नका लागि एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।
बजेटमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पाएकाले पक्षमा मतदान गर्ने निर्णय गरिएको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।
‘आज बिहान पनि प्रधानमन्त्रीसँग कुराकानी भयो। बजेटका कमीकमजोरी सुधार गर्ने आश्वासन पनि पायौं। आगामी दिनमा बजेट निर्माणको प्रणालीमै सुधार गरेर जाने प्रतिबद्धता पनि व्यक्त गरेको हुनाले हामीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्यौं,’ पाण्डेले भने।
बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।
यसैबीच बजेट पारित गर्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीको पनि संसदीय दलको पनि बैठक बस्दैछ।
प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ।



कागजपत्र |
