ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन जना रिहा


काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा आज (मंगलबार) पक्राउ परेका सात जनामध्ये तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घण्टापछि कागज गरेर रिहा गरिएको हो ।

गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो ।

उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया