देउवालाई केन्द्रीय सदस्य आचार्यको प्रश्न, ‘विधान हामीले मात्र मान्नु पर्ने हो कि तपाईहरुले पनि मान्नुपर्छ ?


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाउन माग गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विगत ११ महिनादेखि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक नबोलाइएको भन्ने ध्यानाकर्षण गराउँदै यथाशीघ्र बोलाउन माग गर्दै विभिन्न प्रश्नहरू समेत गरेका छन् ।

आचार्यले कार्यसमितिको बैठक बोलाउन माग गर्दै दिएको लिखित निवेदन पार्टी कार्यालयमा समेत दर्ता भइसकेको छ । उनले पार्टी सभापतिलाई पार्टीको विधानको संस्मरण गराउँदै विधानमा उल्लेख भए अनुसार २ महिनामा बस्नुपर्ने कार्य समितिको बैठक नबस्दा पार्टीले विभिन्न आरोह अवरोहहरु भोग्नु परेको उल्लेख गरेका छन् ।

निवेदनमा भनिएको छ, ‘हालै नेपालका सबै प्रदेश र देश बाहिरका साथीहरुसँग भेटघाट, संवाद गर्ने अवसर पाएको थिएँ । केही जिल्लाका साथीहरुसँग स्थलगत अन्तरक्रिया पनि भयो । यी बसाईहरुमा पार्टी प्रति साथीहरु बढी नै जागरुक, चिन्तित र संवेदनशील पाएँ । उनीहरुको अनेकौँ जिज्ञासा थियो- केन्द्रिय कार्यसमितिको सदस्य भएर के गर्नु भयो ? बैठकमा विभिन्न पार्टी तह र जिम्मेवारीमा रहेका सदस्यहरुको मनोबल बढाउन र उर्जा भर्न के निर्णय गर्नुभयो ? पार्टीको लोकप्रियता बढाउन केन्द्रिय समितिले के-के कार्यक्रमहरु तय गर्यो ? भुईका जनतासँग हामी कहाँ कसरी जोडियौं ? विभागहरु किन गठन भएनन् ? भात्रृ शुभेच्छुक संघसंस्थाहरु किन लथालिंग छन ? नीति महाधिवेशन कहाँ हरायो ? महासमिति बैठक किन बोलाउनु हुन्न ? विधान हामीले मात्र मान्नु पर्ने हो कि तपाईहरुले पनि मान्नु पर्छ ? किन मुहान संग्लो बनाउनु हुन्न ? भ्रष्टाचार काण्ड र छानविनमाथि किन केन्द्रिय समिति केही बोल्दैन ? यस्ता थुप्रै प्रश्नहरुले म मात्र होइन लगभग सबै केन्द्रिय पदाधिकारी एवं सदस्यहरु घेरिनु भएको छ जस्तो लाग्छ ।’

उनले दिएको निवेदन पार्टी कार्यालयमा सोमबार नै दर्तासमेत भइसकेको छ ।

 

निवेदनः

श्रीमान सभापति ज्यू

नेपाली काँग्रेस

केन्द्रिय कार्यसमिति

वि.पी स्मृती भवन, विपी नगर, सानेपा

मिति : २०८० /०२/११

महोदय,

विषय : केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस भन्ने बारे ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक नबसेको लामो समय भयो । अघिल्लो बर्ष ( २०७९) असार २७ – श्रावण २ को बैठक पछाडि समसामयिक सवालहरुमा केन्द्रिय कार्यसमितिले छलफल गर्न नपाएको तथ्य आफैँमा सुखद होइन ।

हामीले स्वीकानै पर्छ कि नेपाली काँग्रेस जस्तो लोकतन्त्र स्थापना, पुनर्स्थापना एवं सदृढीकरणका लागि सात दशक भन्दा लामो संघर्ष गरेको पार्टीका लागि विगतको ११ महिना निकै आरोह अवरोहपूर्ण रह्यो । नीतिगत एवं राजनैतिक अध्ययन अनुसन्धानका दृष्टीले पेचिलो मात्र होइन, सैद्धान्तिक बैचारिक स्खलन एंव छवि विघटनका दृष्टिले समेत निकै पिडादायी रह्यो । यसै विच प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो । अस्वाभाविक चुनावी गठबन्धनको अभ्यास भयो । प्रतिनिधि सभामा ठूलो दल भएर पनि सरकार निर्माणका सन्दर्भमा उल्टै सांगठनिक र मनोबैज्ञानिक क्षती व्यहोर्नु पयो । उपनिर्वाचनले हाम्रा लागि अप्रिय परिणाम मात्र दिएन, जनताका थुप्रै असन्तुष्टि र निराशाहरुकाबीच हामी उभिन बाध्य भयौँ, भईरहेछौँ । तर दुखको कुरा आजसम्म पनि यि सवालहरु केन्द्रिय कार्यसमितिभित्र समीक्षाको विषय बनेनन्

हालै नेपालका सबै प्रदेश र देश बाहिरका साथीहरुसँग भेटघाट, संवाद गर्ने अवसर पाएको थिएँ । केही जिल्लाका साथीहरुसँग स्थलगत अन्तरक्रिया पनि भयो । यी बसाईहरुमा पार्टी प्रति साथीहरु बढी नै जागरुक, चिन्तित र संवेदनशील पाएँ । उनीहरुको अनेकौँ जिज्ञासा थियो- केन्द्रिय कार्यसमितिको सदस्य भएर के गर्नु भयो ? बैठकमा विभिन्न पार्टी तह र जिम्मेवारीमा रहेका सदस्यहरुको मनोबल बढाउन र उर्जा भर्न के निर्णय गर्नुभयो ? पार्टीको लोकप्रियता बढाउन केन्द्रिय समितिले के-के कार्यक्रमहरु तय गर्यो ? भुईका जनतासँग हामी कहाँ कसरी जोडियौं ? विभागहरु किन गठन भएनन् ? भात्रृ शुभेच्छुक संघसंस्थाहरु किन लथालिंग छन ? नीति महाधिवेशन कहाँ हरायो ? महासमिति बैठक किन बोलाउनु हुन्न ? विधान हामीले मात्र मान्नु पर्ने हो कि तपाईहरुले पनि मान्नु पर्छ ? किन मुहान संग्लो बनाउनु हुन्न ? भ्रष्टाचार काण्ड र छानविनमाथि किन केन्द्रिय समिति केही बोल्दैन ? यस्ता थुप्रै प्रश्नहरुले म मात्र होइन लगभग सबै केन्द्रिय पदाधिकारी एवं सदस्यहरु घेरिनु भएको छ जस्तो लाग्छ ।

अन्तमा, यस्ता यावत सवालहरु माथि छलफल गरी अविलम्ब निर्णय लिनु पर्ने भएकाले नेपाली काँग्रेसको विधान (संशोधन सहित) को धारा २१ को उपधारा १२ ले व्यवस्था गरेको “केन्द्रिय कार्य समितिको बैठक प्रत्येक दुई महिनामा कम्तिमा १ पटक बस्ने छ” का प्रति समेत यहाँको ध्यानाकर्षण गराउदै केन्द्रिय कार्य समितिको बैठक यथाशिघ्र बोलाउन हुन सविनम्र अनुरोध गर्दछु ।

जय नेपाल !

मधु आचार्य

सदस्य

नेपाली काँग्रेस केन्द्रिय कार्य समिति

 

प्रतिक्रिया