

बजेट असन्तुलित भएकोमा मन्त्री किरातीले मागे माफी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् ।
बजेट असन्तुलित भएकोमा उनले माफी समेत मागेका छन् । बजेटको सिलिङ कम भएका कारण सांसदहरूले दिएका धेरै योजनाहरू समेट्न नसकेको उनको भनाइ छ । सांसदहरुलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको उनले बताए ।
मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुने गरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको उनको भनाइ छ । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे ।
पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिरहेको पनि उनले संसद्लाई जानकारी गराए । त्यस्तै विमानस्थल थप्नेभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने र नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको उनले स्पष्ट पारे ।

