

न्यायपरिषद् बैठक बस्दै, ४१ न्यायाधीश नियुक्ति गर्ने तयारी

काठमाडौं – न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको छ । उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।
हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्नेछ ।
तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी गरिएको छ ।

