भारतसँग पराजित नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो


बेङ्गलुरु – भारतसँग २-० ले पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा पहिलो हाफमा सम्हालिएको नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो।

भारतीय कप्तान सुनील क्षेत्रीले ६२औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेट नबित्दै महेश नोरेमले गरेको गोलसँगै भारतले अग्रता दोब्बर पारेको थियो।

दुई वर्षअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलमा पुगेको नेपाल यसपाली समूह चरणको एक खेल बाँकी रहँदै बाहिरिएको छ। गत संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग ३-० ले पराजित हुँदा उपाधिबाट वञ्चित भएको थियो।

जारी प्रतियोगितामा समूह ‘ए’मा परेको नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो। आजको पराजयसँगै लगातार दुई खेलमा पराजित नेपालले पाकिस्तानसँग खेल्न बाँकी छ।

आजको जितसँगै समूह ‘ए’बाट भारत र आमन्त्रित टिम कुवेत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ। नेपाल र पाकिस्तान समूह चरणमा एक–अर्काको सामना गरेर घर फर्किने भएका छन्।

नेपाल यसअघि २०१५ मा भारतकै केरलामा भएको संस्करणमा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। समूह एमा श्रीलंका र भारतसँग पराजित नेपाल जितविहीन रहेको थियो।

जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तानसँग अन्तिम खेल खेल्ने छ। यो संस्करणमा दुई आमन्त्रित टिमहरू कुवेत र लेबनानलाई समावेश गरिएको छ।

प्रतिक्रिया