

साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी

काठमाडाैं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
कुवेतको जीतमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एक/एक गोल गरे । खेलको १०औं मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई शुरुआती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको १७औं मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९औं मिनेटमा राशिदीले गोल गरेका थिए ।
जीतसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३-१ गोलअन्तरले पराजित गरेको थियो। पाकिस्तान भारतसँग पराजित भएको थियो ।

