

सरकारसँग चन्द्र भण्डारीको माग- ‘क्रिकेट मैदान त बनाइदेऊ’

काठमाडौं – नेपाली कांग्रेसका सांसद डा। चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए ।
उनले भने, ‘क्रिकेट मैदान त बनाइदेऊ । कति वर्षसम्म एउटा मैदान बनाउँदैछौँ भन्छौँ रु एकैचोटि बनाइदिउँ न । हामीलाई पहिचान दिएको क्रिकेटका लागि बजेट छुट्याइदिउँ न ।’
भण्डारीले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, हिमालसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए । उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ शय्याको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद भण्डारीले समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको पनि बताए । उनले हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने उल्लेख गरे ।

