

तिनाउ नदीमा असुरक्षित पौडी, दुई महिनामा १६ जनाको मृत्यु

बुटवल – तराईमा चर्को गर्मी बढेसँगै तिनाउ नदीमा डुबेर दिनहुँ जस्तै मृत्युको घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमवारसम्म तिनाउ र आसपासका नदी र खोलामा डुबेर २२ जनाको मृत्यु भएको छ ।
वैशाख र जेठमा मात्रै १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी वीरेन्द्र थापाले तिनाउ गाउँपालिका ३, तिनाउखोला ड्याम साइड, भूतखोलास्थित पानी पोखरीमा पौडी खेल्ने, फोटो खिच्ने क्रममा डुबेर मृत्यु हुने गरेको बताए ।
गर्मी बढेसँगै तिनाउ खोलामा रुपन्देही र तराईका विभिन्न जिल्लाबाट पौडी खेल्न, घुम्न आउने क्रम बढेको छ । खोलामा डुबेर पुरुष १२, महिला २, बालक ५, बालिका ४ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३, भूतखोला, ड्याम साइड र तिनाउ खोलामा मात्र एक जना महिला, ६ जना पुरुष, २ बालबालिकाको डुबेर मृत्यु भएको हो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गर्मी छल्न भन्दै तिनाउ खोलामा पौडी खेल्न आउनेहरू नै सजग नहुँदा हरेक वर्ष मृत्युका घटना दोहोरिने गरेको बताए । पालिकाले यस क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यान दिई ड्याममा जाने मुख्य गेटमा ताला लगाए पनि अन्य बाटोको प्रयोग गरी त्यहाँ जाने र पौडी खेल्ने गर्दा दुर्घटना बढ्दै गएको उनले बताए ।

