

प्रधानमन्त्री प्रचण्डको पशुपति यात्रा देखाउनका लागि मात्र : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशका प्रधानमन्त्री र मन्त्रीले अन्तरहृदयबाट हिन्दु राष्ट्रलाई नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको पनि बताए ।
‘नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड शनिबार केही मन्त्रीहरुलाई लिएर पशुपतिनाथको दर्शनमा पुगेका थिए । राप्रपा अध्यक्ष लिङ्देनले कसैको चित्त बुझाउन मात्र प्रधानमन्त्री पशुपतिनाथ गएको भए दुर्भाग्य हुने बताए ।

