

फिलिपिन्स जाने राष्ट्रिय फुटबल टिमको बिदाइ

काठमाडौं – मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमलाई बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरूले राष्ट्रिय पुरुष फुटबल टिमलाइ बिदाइ गरे।
साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टिम फिलिपिन्स जान लागेको हो। नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ। बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टिमका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सबै टिम कडा प्रतिष्पर्धी रहे पनि नेपाली टिमको तयारी राम्रो भएको बताए।
उनले चुनौति भएपनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए। त्यस्तै उनले राज्यले व्यवस्थापन गर्न नसक्दा राम्रा खेलाडी विदेसिन बाध्य भएको जिकिर गरे। त्यस्तै, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षका क्रममा खेलाडीहरूले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए।
भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म चल्ने छ। बेङ्गलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्।
साफमा नेपाल समूह ’ए’ मा छ। नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ। यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

