

सांसद शाहीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् । उनले प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्ने माग गरे।
उनले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ रु भन्दै प्रश्न गरे। उनले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताए।
शाहीले भने, ‘प्रतिनिधिसभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्री यो संसद्को सदस्य पनि हो। आज प्रधानमन्त्रीविरुद्ध सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ र सर्वोच्च अदालतले ३० गते अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ।
३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएर जानुहुन्छ। अपराधको कुरामा अदालतमा जानेकुरा के होरु त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ। युद्ध अपराध जस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्री त्यो पदमा बसिरहन उचित हुँदैन। नैतिकताका आधारमा पनि प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गरेको धारणा संसद रेकर्डबाट हटाउन माग गरे।
सांसदहरूको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए। प्रतिनिधिसभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ।

