राजश्व छलीमा गृह र अर्थमन्त्रालयका कर्मचारीको सेटिङ हुन्छ : सांसद गिरी


काठमाडौं – नेकपा एमालेका सांसद पदम गिरीले भन्सारहरूमा विचौलियाको हावी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिदै सांसद गिरीले भन्सार छल्नमा सरकारका व्यक्तिहरू नै संलग्न रहेको र अरबौं रुपैयाँ राजश्व हिनामिना भएको बताए ।

उनले गृहमन्त्रालय र अर्थमन्त्रालयका उच्च पदस्थ व्यक्तिहरू नै राजश्व चुहावट गराउने काममा ठूलो सेटिङमा लागिरहेको बताए

उनले भने,ु भन्सारहरूमा विचौलियाको हावी भएको छ। गृह र अर्थमन्त्रालयका उच्च पदस्थ कर्मचारी नै राजश्व चुहावट गराउने काममा ठूलो सेटिङमा लागिरहेका हुनछन्। मन्त्रीहरूका क्वाटरबाट स्वकीय सचिवहरूले भन्सारका कर्मचारीहरूलाई फोन गरेर गाडीका गाडीका माल भित्र पठाइन्छ। भन्सार छल्नमा सरकारका मान्छेहरू लागेका छन् । अरबौं रुपैयाँ राजश्व हिनामिना भएको छ।’

गठबन्धन सरकारकै कारण अर्थतन्त्र कमजोर भएको उनको जिकिर छ। उनले यो गठबन्धन सरकार जनताका लागि नभइ विचौलियाका लागि गठन भएको बताए। उनले भने,’यो गठबन्धन विचौलिया र निश्चित घरानाका व्यापारीहरूलाई फाइदा हुनेगरी बनेको हो।’

१४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले साँढे ८ अर्ब राजश्व संलकन गर्न नसकेको भन्दै आपत्ती जनाए। यसको जिल्ला गठबन्धन सरकारले लिनुपर्ने बताए।

उनले भने, ‘यो सरकार सम्पूर्णरुपमा असफल भएको छ। आफ्नो असक्षमता के हो त्यो हेर्नुपर्‍यो,अयोग्यतालाई बुझ्न पर्यो। यदि यसले जनता र सदनलाई चित्त बुझ्दो जवाफ दिन सक्दैन भने नैतिकरुपमा यो गठबन्धनलाई सरकारमा बस्न रहिरहन हैसित छैन।’

प्रतिक्रिया