सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’


काठमाडौं – कीर्तिमानी आरोही कामीरिता शेर्पाले जारी वसन्त ऋतुमा मात्रै दुईपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसँगै यसअघिको आफ्नै कीर्तिमान तोडेका छन् । यसअघि सबैभन्दा बढी २६ पटकसम्म सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका उनले जेठ ३ मा २७औँ र जेठ ९ मा २८औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
कामीरिताको यो कीर्तिमानलाई विश्वभरका सञ्चारमाध्यमले प्राथकिताकासाथ प्रकाशन तथा प्रसारण गरे । उनको सगरमाथामा विश्व कीर्तिमान केवल आरोहण मात्रै थिएन यो त नेपालका हिमाल आरोहणका लागि सुरक्षित छन् भन्ने विश्वका लागि सन्देश पनि थियो ।
कामीरिता आफै पनि आफूले सगरमाथा कीर्तिमानका लागि चढेको नभइ नेपालको पर्यटन प्रवर्द्धनका लागि रहेको बताएका छन् । आफ्नो कीर्तिमानी आरोहणपछि विदेशी आरोहीलाई पनि नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिन सफल भएको उनको भनाइ छ ।
आरोही कामीरिता र आरोही हरि बुढामगरले आरोहणपछि कायम गरेको कीर्तिमानले विश्वभर नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको भनाइ छ । ‘सगरमाथा आरोहणमा नेपालीले वल्र्ड  रेकर्ड राख्नु देशका लागि गौरवको विषय हुन्छ, यसले संसारभर नेपालको पर्यटन प्रवर्द्धन हुन्छ’, उनले भने ।
शेर्पाका अनुसार सगरमाथा आरोहणमा कैयन कीर्तिमान कायम भएका छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहणदेखि छोटो समय र बिना अक्सिजन आरोहणलगायतका कीर्तिमान कायम भइसकेका छन् । “हिमालमा प्रतिस्पर्धा गर्नु आफैमा चूनौतिपूर्ण काम हो, जोखिम मोलेरै आरोहण गर्नेहरुका कारण यसले विश्वभरका आरोहीलाई आकर्षण गरिरहेको छ”, पूर्वअध्यक्ष शेर्पाले भने ।
सभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक मिङ्मा शेर्पा पनि सगरमाथाको नयाँ कीर्तिमानले विश्वलाई सकारात्मक सन्देश दिएको बताउछन् । ‘प्रत्येक वर्ष सगरमाथामा आरोहणमा हुने नयाँ कीर्तिमानले विश्वलाई सकारात्मक सन्देश दिएको छ’, उनले भने, ‘सगरमाथाको जति धेरै आरोहण भयो त्यति राम्रो सन्देश जान्छ ।’
खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ ।
यस्तै, पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । बुढामगर यही जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन(’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । (प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
यसैगरी जारी सिजनमा यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको आरोहण गरेका छन् । शेर्पाले यही जेठ ३ गते सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । उनी पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाका श्रीमान हुन् । उनी थामसेर्कु ट्रेकिङ कम्पनीका सञ्चालक पनि हुन् ।
यस्ता छन् कीर्तिमान
यसअघि हिउँ चितुवाको उपनामले परिचित कीर्तिमान आरोही स्व आङरिता शेर्पाले बिना अक्सिजन सगरमाथाको १० पटक आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । त्यसैगरी सबैभन्दा छोटो समय अर्थात् साढे १० घण्टामा सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म पुगि सफल आरोहण गरेर काजी शेर्पाले कीर्तिमान बनाएका थिए ।
उनको कीतिमान बाबुछिरिले ब्रेक गरे भने बाबुछिरिलाई पनि पेम्बा शेर्पाले रेकर्ड तोडेर कीर्तिमान कायम गरेका थिए । साथै सबैभन्दा कम उमेरमा १३ वर्षे अमेरिकी नागरिक जोर्डन रेमोरोले रेकर्ड कायम गरेका थिए ।

प्रतिक्रिया