सर्वदलीय बैठकमा दलहरुबीच जुटेन सहमति, संसद बैठक अनिश्चित


काठमाडौं – नेकपा एमालेले आज (शुक्रबार) संसद बैठक सुरु भए लगत्तै अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको छ ।

संसद बैठक रोकेर बसेको सर्बदलिय बैठकमा जुटेका दलहरुबीच सहमति नभएपछि बैठक अनिश्चित बनेको हो । संघीय संसदका महासचिव भरतराज गौतमले बैठक ३ बजे बस्ने सूचना निकालेका थिए तर बैठक बस्नका लागि दलहरुबीच सहमति जुटेको छैन ।

नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।

एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

यसरी स्थगित भएको बैठक बिना सूचना २ घन्टा भित्र सुरु नभएमा स्वतस् स्थगित हुने व्यवस्था छ । त्यसैले बैठक बस्ने समय लम्ब्याउनका लागि महासचिव गौतमले बैठक ३ बस्ने सूचना निकालेका हुन् ।

प्रतिक्रिया