

कांग्रेस कार्यकर्ताद्वारा कैलारी गाउँपालिका घेराउ

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले कार्यालय घेराउ गरेका छन् ।
नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकालाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।
बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए ।
पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।

