नर्वेकी एक महिलासहित तीन जनाले गरे कञ्चनजंघाको सफल आरोहण


ताप्लेजुङ – विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा (८, ५८६ मिटर उचाइ) को तीन जनाले आरोहण गरेका छन् ।

नर्वेकी ३७ वर्षीया क्रिष्टिना हरिला, संखुवासभाका तेन्जिङ शेर्पा र ओखलढुंगाका केलु शेर्पाले शुक्रबार कञ्चनजंघा आरोहण गरेको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । उनीहरू यही कम्पनीबाट आरोहणका लागि गएका थिए ।

आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली ८ हजार ४ सय मिटर उचाइसम्म पुगेर फर्किएको मिङ्माले जानकारी दिएका छन् । उनका अनुसार खराब मौसमका कारण फर्किएका हुन् । सातोरी एड्भेन्चर कम्पनीका निर्देशक ऋषि भण्डारीका अनुसार पहिलो चरणमा प्रयास गरेर क्याम्प फर्किएकाहरूले पुनः आरोहणको प्रयासमा छन् ।

मौसमका कारण चुचुरो नजिक पुगेर पनि २१ जना आरोही फर्कन बाध्य भएको उनले बताए । कञ्चनजंघा हिमालको चौथो क्याम्पदेखि माथिको क्षेत्र अप्ठेरो मानिने गरेको छ । यो निकै लामो पनि भएकोले यहाँबाट गएर आरोहण गरेर यही फर्कनुपर्ने वाध्यता हुने गरेको यसअघि आरोहण गरेका मिङ्मा डेभिड शेर्पा बताउँछन् ।

प्रतिक्रिया