

उपत्यकाका यी रुटमा चल्न थाले साझाका विजुली बस

काठमाडौं – साझा यातायातले थप तीन वटा विद्युतीय बस सोमबारदेखि सञ्चालनमा ल्याएको छ । ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा सञ्चालनमा ल्याइएको साझाले जनाएको छ ।
ती बसहरु साझाले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ । भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ । अबको २ हप्ताभित्र १५ वटा बस सञ्चालनमा आउने जनाएको छ ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले विहान ५ देखि राति ९ बजेसम्म नियमित बस सञ्चालन गर्न आग्रह गरेका छन् । उनले पाटन ढोकाबाट पुरानो रुट बन्द भएकोमा धेरै स्थानीयबाट गुनासो आइरहेकोमा अब समाधान भएको भएको बताए । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले ललितपुर, काठमाडौं र गोकर्णेश्वर तीनवटा सहर जोड्न सहयोग पुग्ने बताए । सरकारले ३ अर्ब रुपैयाँ सेयरमा लगानी गरेकाले विद्युतीय बस खरिद गर्न सफल भएको बताए । थप ७०–८० वटा विद्युतीय बस ल्याउनकोलागि अध्ययन भैरहेको जानकारी दिए ।
दीक्षितले चार्जिङ डिपोको लागि सरकारले जग्गा उपलब्ध नगराउँदा सबै बस सञ्चालनमा समस्या आएको बताए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जग्गा खोज्न सल्लाघारी, खुमलटार, गुर्जुधारा, ट्रलिबस डिपो, पुलचाकको सहकारी विकास बोर्डको प्रांगण लगायतका ठाउँको सूची तयार भएपनि साझालाई दिन पहल नभएको गुनासो गरे । ललितपुरका मेयर महर्जनले साझा यातायातलाई चार्जिङ स्टेशन राख्नका ेलागि सहयोग गर्ने बताए ।

