

भुटानी शरणार्थी प्रकरण : टोपबहादुरको बयान सुरु

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनको बयान सुरु भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।
यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले बयान सुरु गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।
२० वैशाखमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

