अर्थतन्त्रमा झारफुक होइन, चिरफार आवश्यक छ : सांसद वाग्ले


काठमाडौं – प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको आर्थिक व्यवस्थाले ठूलो परिवर्तन खोजेको बताएका छन् । आज सोमबार प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनले हालको अर्थतन्त्रलाई ‘झारफुक’ गरेर नहुने बताए ।

‘अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै उत्साहित त बनाएको छैन । यो सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा यो झारफुक गरेर हामी उम्कन सक्ने अवस्था अहिले छैन,’ उनले भने ।

अर्थमन्त्रीलाई आफ्नो पार्टीको घोषणापत्र बढ्न पनि वाग्लेले सुझाएका छन् । त्यसमा अर्थतन्त्र सुधार गर्न के गर्न सकिन्छ भनेर लेखिएको पनि उनको भनाइ छ ।

‘दिगो विकास र जलवायु परिवर्तनका कुरा आएका छन् । हिजो मैले अर्थमन्त्रीबाट सुनेँ– फिस्कल स्पेस अलिकति टाइट छ । मनिटरी उपकरणहरूबाट हामी अगाडि जान्छौँ भने, यो गलत हो । फिस्कल स्पेस खोज्न र सिर्जनशील हुन सक्ने हो भने व्यापक स्पेस अझै पनि छ,’ उनले भने, ‘त्यसको लागि तपाईंले यही जलवायु परिवर्तनको मुद्दा र यही दिगो विकासको मुद्दाबाट नै अगाडि बढ्न सक्नुहुन्छ ।’

दशौँ लाखको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशिएको भन्दै त्यसलाई रोक्न यो बजेटले व्यवस्था गर्नुपर्ने पनि उनले बताए । छोटो समयमा ठूल्ठूला विकास गर्नुपर्ने भएकाले पनि आधार बनाउन पर्ने उनको भनाइ छ ।

डिजिटलाइजेसनको नाममा सामान्य काम पनि नभएको उनले बताए । त्यस्तै, आर्थिक वृद्धि र स्थायित्वको कुरा जायज भएपछि पहिलेदेखि नै यही कुरा उठान गर्न उचित नभएको उनले बताए ।

प्रतिक्रिया