१० औँ पटक विस्तार गर्दापनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् भएन पूर्ण


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउँदै १० औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

संविधानको धारा ८० बमोजिम आचार्यलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार महिन्द्र राय यादवको मन्त्रालय पनि परिवर्तन हुनेगरी राष्ट्रपतिले कार्यविभाजन गरेका छन् ।

यसअघि यादवको मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक रहेकामा उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

प्रचण्डले १० औँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा अझै एक मन्त्रालय रिक्त छ । वन तथा वातावरण मन्त्रालय यसअघि भएको भागबण्डा अनुसार जसपाले पाउने सहमति भएको थियो । तर, जसपाले कसलाई पठाउने भन्नेबारे हालसम्म निर्णय नलिँदा मन्त्रिपरिषद् अपूर्ण रहेको हो ।

प्रतिक्रिया