निर्वाचन आयोगबाट सिधै शितल निवासमा, किन गए प्रधानमन्त्री ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सिधै शितल निवास गएका हुन् ।

मंगलबार बिहान निर्वाचन आयोगमा १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेको सुरक्षा स्रोतले जानकारी दिएको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले निवार्चनको तयारीबारे जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले निर्वाचनको तयारी निरन्तर अगाडि बढाउन आयोगसँग आग्रह गरेको जानकारी दिए।

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनुभएको छ।’

प्रतिक्रिया