

घोडाघोडीको आमफाटाबाट गाउँ पसेको चितुवाको उद्धार

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका-८ आमफाटाबाट चितुवाको सकुशल उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो ।
डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो । बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयहरूको होहल्लापछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो । उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
चितुवा देखिएको क्षेत्रका स्थानीय बासिन्दा त्रसित थिए । एक साताअघि पनि घोडाघोडी नगरपालिका–२ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए ।

