

रौतहटको गढीमाईमा जग्गासम्बन्धी विवादका क्रममा गोली चल्यो, एक जनाको मृत्यु

रौतहट – रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा चलेको गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो ।
गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
एसएसपी बुढामगरले दिएको जानकारी अनुसार गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । गोली कसले चलायो भन्ने खुलेको छैन ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए ।

