

शान्तिवाटिकामा मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौं – काठमाडौंमा आन्दोलनरत दोस्रो समुहको मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सुरु भएको वार्तामा मिटरब्याज पीडितले ६ बुँदे मागपत्र पेश गरेका छन् ।
उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेका छन् । सरकाले चैत १८ गते मिटरब्याज पीडितको एक समूहसँग सरकारले पाँच बुँदे सहमति गरे पनि उक्त सहमतिले माग सम्बोधन नहुने भन्दै चैत २० गते फेरि अर्को समूह आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेत, उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।
मिटर ब्याज पिडीतले पनि सरकारसँग वार्ता गर्न आज (आइतबार) १९ दसदस्यीय वार्ता टोली गठन गरेको छ । सोही वार्ता टोलीबीच हाल छलफल भइरहेको छ ।

