

कर्णाली सरकारबाट बाहिरियो एमाले, ३ मन्त्रीले दिए राजीनामा

सुर्खेत – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै जना मन्त्रीले राजीनामा दिएका छन् । आज (आइतबार) तीनै जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई संयुक्त रुपमा राजीनामा बुझाएको हो ।
एमालेबाट कर्णाली सरकारमा सामाजिक विकासमन्त्री टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह मन्त्री बनेका थिए । केन्द्रमा सरकार बदलिएसँगै प्रदेशमा पनि त्यसको असर देखिएको हाे ।
पुस १० गते एमालेसिहतको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनको बेला नेपाली कांग्रेससहितको सरकार गठन गरेपछि केन्द्रदेखी प्रदेकशकाे सरकार समिकरण फेरिएको हो ।
यहाँ एमाले(माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।
नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

