अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरु हटाउन इरानको माग, तत्काल फुकुवा नगर्ने बाइडेनको अडान


वासिङ्टन – पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् ।

सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले स्पष्ट पारेका हुन् । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले इरान नीतिमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि मात्रै इरान सन् २०१५ को सम्झौतामा फर्किन सक्ने बताएका छन् ।

सन् २०१५ मा भएको सम्झौतामा इरानको परमाणु कार्यक्रम सीमित गर्ने र त्यसको बदलामा उसमाथिको प्रतिबन्ध फुकुवा हुने उल्लेख छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सो सम्झौताबाट सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए ।

उनले इरानमाथि पुनः प्रतिबन्ध लगाए र इरानले आफ्नो परमाणु कार्यक्रमलाई बढावा दिएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ ।

बाइडेनले अन्तर्वार्ताको क्रममा चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । उनले चीनसँगको तनावको कुनै अर्थ नरहेको तर दुई देशबिच तीव्र प्रतिस्पर्धा भने रहेको र रहनु पर्ने बताए ।

बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सीधा कुराकानी गरेका छैनन् ।

प्रतिक्रिया