
बेनी-मालढुंगा सडक निर्माण कार्य रोकियो
काठमाडौं – कालीगण्डकी करिडोरमा पर्ने बेनी-मालढुंगा सडक खण्डको स्तरोन्नतिको काम रोकिएको छ। नदीजन्य निर्माण सामग्रीको अभावमा सो सडक खण्डको निर्माण कार्य रोकिएको हो।
पर्वतको कुश्मा नगरपालिका १ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ३,४ ,७ र८ नम्बर वडाहुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माणको रोकिदा यात्रुलाई सास्ती र जोखिम बढेको छ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाले १३ किलोमिटर दुरीको बेनी-मालढुंगा सडक स्तरोन्नतिका लागि वि.सं.२०७७ साल चैत्रमा एपेक्स खड्का कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।
ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणका लागि आवश्यक पर्ने ढुंगा,गिटी ,बालुवा र रोडा नपाएपछि शुक्रबारदेखि काम रोकिएको बताए। उनले नदीजन्य पदार्थ नभएपछि मजदुरलाई घर पठाएको र दर्जनौं डोजर टिपर थन्काएर राखेको बताए।
सम्झौताअनुसार कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उपलब्ध गराउन अन्तरिम आदेशको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइ निर्माण कम्पनीले सर्वोच्चमा रिट निवेदन दिएको थियो।
तर,सर्वोच्च अदालतले २०७८ असार २९ गते कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएको थियो। सर्वोच्चले पुरानै आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश दिन अस्वीकार गर्ने निर्णय गरेपछि आयोजनाको काम रोकिएको हो।
२०७९ चैत्रसम्मको म्याद रहेको सो सडकको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ।



कागजपत्र |
