सुनकोशीद्वारा दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण


काठमाडौं – सिन्धुपाल्चाेककाे सुनकोशी गाउँपालिकाले पालिकाभरका दीर्घरोगीहरूका लागि निःशुल्क औषधि वितरणको सुरुवात गरेको छ । सुगर, प्रेसर, दम र मानसिक रोगीहरूका लागि गाउँपालिकाले निःशुल्क औषधि दिन लागेको हो ।

दीर्घरोगीहरूलाई उनीहरूले सेवन गर्दै आएको औषधि प्रदान गर्दे गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रदान गरेर सुरुवात गरेका थिए ।

गाउँपालिकाले औषधि वितरण सँगै एक दिने वृहत् स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण समुदायलाई लक्षित गरेर वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीहरूलाई वडामा निवेदन दिन आग्रह गरेकाे थियाे । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

न्युनतम एक हजारदेखि बढीमा २० हजार रुपैयाँसम्मको मासिक औषधि सेवन गर्ने बिरामीहरू गाउँपालिकाभित्र रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । अन्य दीर्घरोगीहरूले पछि पनि निवेदन दिएको र त्यसको निर्णय पछि मात्रै उनीहरूलाई औषधि उपलब्धता गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले बताए ।

शिविरबाट जम्मा २५२ जनाले सेवा लिएका छन् । जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना शङ्कास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना महिलाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । गाउँपालिकाले ग्रामीण महिला अल्ट्रासाउण्ड(भिडीयो एक्सरे) सेवा समेत सुरुवात गरेको छ । पहिलो दिन ५ जना गर्भवती महिलाहरूले भिडियो एक्सरे को सेवा लिएका छन् ।

शिविरको अवसरमा गाउँपालिकाले स्थानीय देविस्थान स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामग्रीहरू हस्तान्तरण गरेकाे थियाे ।

प्रतिक्रिया