सुमो दुर्घटना हुँदा एककाे मृत्यु


टिस्टुङ – गए राति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका–२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, उनकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यही माघ १० गतेदेखि हेटौँडा–काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया