


खानेपानी मन्त्री अब्दुल खानले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौं – जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । खानले शुक्रबार साँझ राजीनामा दिएका हुन् ।
मन्त्रिमण्डल विस्तारमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएका जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।
‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्’ उनले भने ।
मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क रहेको जनमत पार्टी खानेपानी मन्त्रालय पाएपछि असन्तुष्ट बनेको छ ।

