


दाइजो प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन

सिरहा – मधेस प्रदेशमा दाइजो प्रथासँगै महिला हिंसाको घटनामा कमि आएको छैन । बढ्दो दाइजो प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजो नदिएकै निहुँमा मधेशमा महिलाको हत्यासम्म हुने गरेको छ।
बढ्दो दाइजो र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल ९सीडीडव्लूएन० ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको छ।
नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ। ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ। त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहोर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।
विशेषगरी मधेसी समाजमा भनेजति दाइजो नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ। सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजोप्रथा, छोरी जन्माएको कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ।
समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजोप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रुपमा रहेको छुवाछुतप्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ।
आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साहसहित दर्जनबढी कलाकारको सहभागिता छ।
नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ। त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ।

