


तीन महिनामा सातौँ पटक सरकार विस्तार, अझै पाँच मन्त्रालय टुंगिन बाँकी

काठमाडौं – सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ । शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा अझै सहमति हुन नसकेको हो ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । आफैंले दुई पटक विश्वासको मत लिइसकेका दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद् अझै पूर्णता पाउन नसकेको हो।
पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि अझै ५ वटा मन्त्रालय उनैसँग रहने भएका छन् । जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ। अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको बालुवाटार स्रोतले जनाएको छ ।

