

मोफसलतिर ‘ट्राइ’ मार्दै राजधानीमा नपत्याइएका दुई ‘सिपाही’ !

काठमाडाैं – आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार घोषणाको क्रम चलिरहेको छ । यसै क्रममा हरेक राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाउने काम गरिराखेका छन् ।
चितवन–२, बारा–२ र तनहुँ– १ मा हुने उपनिर्वाचनका लागि सबैभन्दा निर्विकल्प उम्मेदवारका रुपमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पायो । पार्टीभित्र आन्तरिक मतदानको आधारमा उम्मेदवार छान्ने भन्दै ‘खरानी’ घसेको रास्वपाले अन्य दुई स्थानमा वैकल्पिक उम्मेदवारहरुको नाम राख्दा चितवन २ मा भने एक जनाको मात्र नाम राख्यो । यसबाट रास्वपामा पनि नेतृत्व हाबी हुनेरैछ भन्ने कुरालाई पुष्टी गर्यो ।
रास्वपाले बारा २ बाट उम्मेदवार बनाउन लागेका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेल यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा पराजित बनेका उम्मेदवार हुन् । राष्ट्रिय सुशासन पार्टी नामक राजनीतिक दलको नेतृत्व लिएका खरेल केही महिनाकै अन्तरमा पार्टीलाई नै समाहित गर्दै उम्मेदवार बन्ने तरखर गरेका छन् । पार्टी अध्यक्ष जस्तो ओहोदामा बसेका खरेलले बारा–२ मा उपनिर्वाचनमा भिड्नकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ‘नाम मात्रको आन्तरिक पार्टी निर्वाचन’मार्फत छानिएर चुनाव लड्ने तयारीमा छन् ।
त्यस्तै पूर्वप्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल पनि तनहुँ क्षेत्र नं. १ बाट चुनाव लड्ने तयारीमा रहेका छन् । गृहजिल्ला समेत रहेको खनालले तनहुँमा गत मंसिरमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग हार ब्यहोर्ने निश्चित भएपछि काठमाडौं क्षेत्र नं. ६ बाट चुनाव लडे । चुनाव घोषणा भएपछि नेकपा एमालेको औपचारिक टिका लगाएका खनालले अन्ततः ६ महिनाभित्रै अर्को निर्वाचनमा होमिन लागेका छन् । तर, त्यसको अन्तिम निर्णय भने भइसकेको छैन ।
जीवनको अधिकांश समय नेपाल प्रहरी जस्तो संगठनमा काम गरेर देशका लागि उल्लेख्य काम गरेका यी दुई जीवनको उत्तराद्र्धमा राजनीतिमा प्रवेश गरेका हुन् ।
उनीहरुले गत मंसिरमा सन्तोषजनक मत ल्याएकै हुन् । तर उनीहरुसँग अर्को चुनावसम्म कुर्ने धैर्यता नदेखिनुले पदकै लागि मात्र राजनीतिमा लागेका रहेछन् भन्ने कुरा पुष्टी हुन्छ । खरेल रास्वपाको माहौल देखेर त्यता लागेका देखिन्छन् भने खनाल अन्य राजनीतिक दलका उम्मेदवारहरुबीच कडा टक्कर हुने देखेर आफू त्यहीँबीचबाट कतै उछिट्याएर जित्छुकी भन्ने अभिप्रायःले टिकटका लागि लागिपरेको देखिएको छ । तनहुँमा नेपाली कांग्रेसका गोविन्द भट्टराईका साथै रास्वपाबाट कांग्रेस छोडेर गएका युवा अर्थशास्त्री स्वर्णिम वाग्लेको लडाइँमा भाग्य खुल्छकि भन्ने लोभबाट खनाल विमुख हुन नसकेको देखिएको छ । तर, उनले तनहुँमा टिकट पाउने नपाउनेमा अहिले निर्णय भने भइसकेको छैन । एमाले अध्यक्ष ओलीले शनिबारमात्र तीनवटै क्षेत्रमा उम्मेदवारको टुंगो लाग्ने बताइरहँदा खनालको सम्भावना भने बढी देखिएको एमाले नेताहरु बताउँछन् ।
बारामा भने जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतोका साथै पछिल्लो निर्वाचनमा तराईमा राम्रो जनमत ल्याएको सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा बीचमा गैरमधेशी उम्मेदवार खरेलले उम्मेदवारी दिन लागेका छन् । तर बारामा ‘मधेसी’ बीचको भिडन्तमा ‘गैर मधेसी’ले बाजी मार्न सक्लान् त ? खरेलले मंसिरकै माहाैल सोचेर रास्वपामा पार्टी बिलीन गर्न लागेको पनि हुनसक्छ ।
परिणाम जे जस्तो आए पनि यी दुई पूर्वप्रहरीहरुमा जनतामाझ राम्रो काम गरेर अर्को चुनावसम्म पर्खने धैर्यता नदेखिएको भने पक्का हो । जसरी पनि संसद प्रवेश नै उनीहरुको पहिलो प्राथमिकता रहेछ भन्ने कुरा यी दुई पूर्वप्रहरीको पछिल्लो कदमबाट पुष्टी हुन्छ ।
यी दुवै जना कुनै समय आईजीका एकआपसका प्रतिस्पर्धी थिए । त्यसमा खनालले बाजी मार्दा खरेलले राजीनामा दिएर राजनीतिमा होमिएका थिए भने खनाल जागिर पूरा गरिसकेर राजनीतिमा होमिएका हुन् ।

