


रास्वपाको ‘ट्रेन्ड’मा स्वर्णिम वाग्ले र रमेश खरेलको उम्मेदवारी !

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टी एकीकरण हुने भएको छ ।
आगामी उपनिर्वाचनमा सुशासन पार्टीका अध्यक्ष बारा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने रास्वपाको निर्णयसँगै दुवै पार्टीबीच एकीकरण हुने पुष्टी भएको हो ।
अघिल्लो संसदीय चुनावमा खरेल स्वयम् सो पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बने पनि अहिले उपनिर्वाचनका लागि रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालका अनुसार खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने जनाइएको छ । साथै, सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी रहेको उनले जानकारी दिए ।
‘उहाँ खाली चुनाव लड्नका लागि आउन लाग्नुभएको होइन, उहाँ अब रास्वपामा नै रहनुहुन्छ,’ ढकालले भने ।
त्यसका साथै नेपाली कांग्रेसका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेर तनहुँबाट उपचुनाव निर्णय गरिसकेका छन् ।
स्वर्णिम वाग्लेले आफू कांग्रेसबाट अलग भको औपचारिक घोषणा गरिसकेका छन् । यद्यपि, आगामी यात्राबारे आफैंले केही भनेका छैनन् । यता, रमेश खरेल चाहीँ पूर्णरूपमा मौन छन् । धेरैलाई जिज्ञासा छ, उनले आफ्नै नेतृत्वको पार्टी हुँदाहुँदै अर्को पार्टीबाट चुनाव लड्ने निर्णय किन लि ?
प्रवक्ता ढकाल भन्छन्, ‘अहिले सबैजना उपनिर्वाचनमा नै होमिनुपर्ने अवस्था छ । चुनाव सकिएपछि उहाँहरुलाई दिने जिम्मेवारीबारे छलफल हुन्छ ।’
रास्वपामा पदाधिकारीहरू थोरै छन् । अनुभवी र सिनियर नेताहरुको पनि कमी छ । डा. वाग्ले र खरेलको आगमनले सो अभावको पूर्ति हुने विश्वास राखिएको छ । क्षमताअनुसार नेताहरूलाई समायोजन गर्न पार्टीमा कुनै समस्या नरहेको डा. ढकालले बताए ।
अहिले पार्टीमा सभापति लामिछानेपछि दोस्रो वरियतामा उपसभापति डोलप्रसाद अर्याल छन् भने महामन्त्रीमा डा. ढकाल छन् । यसैगरी कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ सहकोषाध्यक्ष रहेका छन् । पार्टीमा ४० सदस्यीय केन्द्रीय कमिटी छ ।

