


त्रिविका कर्मचारीमाथि अनेरास्ववियूका अध्यक्ष पराजुलीले गरे हातपात

काठमाडौं – त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि हातपात भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशक समेत रहेका अधिकारीमाथि एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हातपात गरेका हुन्।
कर्मचारीमाथि हातपात भएपछि त्रिवि प्राध्यापक संघले ध्यानाकर्षण जनाएको छ। त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको उच्चस्तरीय बैठकमा पूर्व निर्धारित मितिमा स्ववियू निर्वाचन सम्पन्न हुन नसकेका क्याम्पसमा निर्वाचन गर्ने सम्बन्धमा छलफल हुने क्रममा पराजुलीको नेतृत्वमा रहेको समूहले अधिकारीमाथि हातपात गरेको भन्दै नेपाल प्राध्यापक संघले आपत्ति जनाएको हो ।
संघका अध्यक्ष प्रा.डा.रमेशकुमार जोशी र महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद सिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यस्ता अभद्र र अमर्यादित आक्रमण भइरहनु निन्दनीय कार्य हो । शैक्षिक संस्थाभित्र विविध समस्यालाई शान्तिपूर्ण तरिकाले वार्ता र समझदारीको माध्यमबाट समाधानको उपाय खोजिनु पर्नेमा प्राज्ञिक क्षेत्रमा संलग्न आफ्ना गुरूवर्गमाथि नै यसरी भौतिक रूपबाट आक्रमण गर्नु दुःखद विषय हो ।’
संघले यस्ता आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

