

मेलामाथि निर्भर ब्रह्मदेव बजार

कञ्चनपुर – कुनै बेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णा गिरिमा लाग्ने मेलामा आश्रित छ ।
भारतको उत्तराखण्डस्थित पूर्णा गिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्ध बाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णा गिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन् । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णा गिरि मेलाको समय यहाँका एउटै व्यापारीले लाखौँको कारोबार गर्ने गरेका छन् । तर मेला बाहेकको समयमा भने यो बजार सुनसान रहने यहाँका व्यवसायी बताउँछन् ।
‘तीन महिना मेलाको आम्दानीले हामीले वर्षभरि चल्नुपर्छ’, स्थानीय व्यवसायी वीरबहादुर खड्काले भने, ‘अन्य समयमा यहाँको व्यापार व्यवसाय प्रायः शून्य नै हुन्छ ।’ मेलाको समयमा मात्रै यहाँ व्यापार फस्टाउँछ ।
विगतको तुलनामा अहिले यहाँको व्यापार व्यवसाय घट्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए । ‘अहिले विगतको जस्तो कारोबार हुँदैन । यहाँ पाइने सामान भारतमा सहजै पाइन थाल्यो’, उनले भने, ‘पछिल्लो समय मेलाकै कारण हाम्रो व्यापार टिकेको छ ।’ मेलामा चल्ने पूजा सामग्रीको अत्यधिक व्यापार हुन्छ । विगतमा जुत्ता, चप्पल र चिनियाँ सामग्रीको माग धेरै हुन्थ्यो । अहिले ती सामान भारतमै पाइन थालेपछि यहाँ व्यापार कम भएको हो ।
महाकाली नदीको पारीपट्टिको डाँडामा भारततर्फ पूर्णा गिरि र वारी नेपालतर्फ सिद्ध बाबाको मन्दिर छ । माताको दर्शन गरेपछि सिद्ध बाबाको दर्शन अनिवार्य गर्नुपर्ने र अनि मात्रै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेका कारण पूर्ण गिरि मेला सुरु भएपछि यहाँको सिद्ध बाबा मन्दिरमा पनि चहलपहल बढ्छ ।
सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थी आउने गरेका बताए । भारतको टनकपुर उत्तरतर्फको चुरेको डाँडामा पूर्णा गिरि माताको मन्दिर छ । ठिक वारी नेपालतर्फ खल्ला मसेट्टी, बह्मदेव र महेन्द्रनगरमा सिद्ध बाबाको मन्दिर छ । कञ्चनपुर, कैलालीलगायत जिल्लाबाट ठूलो संख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन् ।
पूर्णा गिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर बह्मदेव र महेन्द्रनगर बजारमा चहलपहल बढ्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भारतमा लाग्ने मेलाले सीमावर्ती बजारमा आर्थिक गतिविधि बढेको बताए । ‘तीन महिनासम्म सञ्चालन हुने यो मेलाले यहाँको व्यवसाय तङ्ग्रिएको छ’, उनले भने, ‘यसले दुई देशका नागरिकबीच सद्भाव बढाउनुका साथै पर्यटनमा समेत टेवा पुगेको छ ।’
सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए । उनले भने, ‘भेटीबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्छौँ ।’ यहाँस्थित दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरेको उनले बताए ।

