छ महिनामै थपिए १२ हजार कम्पनी, कोभिडबीच नयाँ व्यवसायको लहर


काठमाडाैं – चालू आर्थिक वर्षको मंसिरसम्म ११ हजार ९ सय भन्दा बढि नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार चालु आर्थिक बर्षका समिक्षा अवधिमा ११ हजार ९ सय ७६ नयाँ कम्पनी दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलानामा यो दर्ता ८.७ प्रतिशतले बढी हो ।

तथ्यांकअनुसार २०७६ को साउनदेखि मंसिरसम्ममा दर्ता भएका कम्पनीको संख्या ११ हजार १६ थियो भने २०७५ को सोही अवधिसम्ममा ११ हजार २ सय ८० कम्पनी दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७४-७५ को मंसिरसम्ममा ८ हजार ९ सय ९८ कम्पनी दर्ता भएकोमा २०७३/७४ को मंसिरसम्ममा ८ हजार २९ कम्पनी दर्ता रहेको कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखमा उल्लेख गरिएको छ ।

नेपालमा तुलनात्मक रूपमा कम्पनी खारेजी गर्न भन्दा कम्पनी दर्ता सहज छ । झन्झटिलो खारेजी प्रक्रियाका कारण झन्डै ५० हजार कम्पनीहरू न त चल्न सकेका छन् न बन्द नै हुन सकेको अवस्था छ ।

कम्पनी रजिष्ट्रारमा हालसम्म साढे २ लाख कम्पनी दर्ता भएका छन् । कोभिडको प्रभाव कम हुँदै जाँदा कम्पनी दर्ताको ट्रेण्ड अझै बढेकाे कार्यालयले जनाएकाे छ ।

पछिल्लो समय स्वरोजगारमूलक व्यवसाय सञ्चालनको लहर चल्दै आएको छ । विदेशमा काम गरेर फर्केका नेपालीले सानो पुँजीमा सिर्जनशील व्यवसाय गर्न थालेका कारण मुलुकमा स्वरोजगारको अवस्थामा सुधार आएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया