

मिटरब्याज पीडितलाई न्याय दिन बलियो कानुन चाहियोः प्रभु साह

काठमाडौं – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मिटरब्याज पीडितलाई न्याय दिनका लागि बलियो कानुन बनाउनुपर्ने माग गरेका छन् ।
मंगलबार संसदमा बोल्दै शाहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताउँदै मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए ।
‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारौं सर्वसाधरण घरबारविहिन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सयकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’
यस्तै लघुवित्तले गर्दा सर्वसाधारण पीडित बनाएको साहले बताए । बैङकिङ कारोबार अनुत्पादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताए । ‘ऋण पाउने नागरिकको अधिकार हो । बैङ्कले अनुपादक क्षेत्रमा कर्जा प्रवाह गर्ने तर सामान्य किसानले ऋण नपाउने भयो । जसले गर्दा उनीहरु सुदखोरबाट पीडित हुन पुगेका छन्’ उनले भने ।

