

बालेनलाई प्रचण्डले भने, ‘५ वर्षसम्म सरकार रहन्छ चिन्ता नगर्नुस्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लगातार ५ वर्षसम्म परिवर्तन नहुने बताएका छन् ।
बुधबार काठमाडौँ महानगरपालिकाले गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यो सरकार भत्किन्छ कि भनेर चिन्ता नलिन आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री दाहालभन्दा अगाडि बोलेका काठमाडौँमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला–बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाईयोस् भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै सरकार ५ वर्षसम्म जानेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।

