

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरु धरौटी बुझाएर छुटे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना युवाहरु मंगलबार रिहा भएका छन् । उनीहररुले ५ हजार धरौटी रकम बुझाएर मंगलबार रिहा भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा जनाही ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

