

बारा-२ मा फिरंगी उमेदवारको सम्भावना छैन : सिके राउत

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा क्षेत्र नं २ मा आफ्नो पार्टीको उम्मेदवारी रहने बताएका छन् । अध्यक्ष राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शन गर्दै बारा(२ को उपनिर्वाचनको शुभारम्भ गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर(२ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी समेत गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । अध्यक्ष यादवले गठबन्धनले उक्त क्षेत्रमा आफ्नो उमेदवारलाई सघाउनुपर्ने बताउँदै आएका छन् । बारा(२ मा गठबन्धनमै रहेको दल जनमतले उमेदवार उठाउने गरी तयारी थालेपछि यादवलाइ चुनैति थपिएको छ ।

