

प्रतिनिधिसभाको रिक्त निर्वाचन क्षेत्रमा एकैसाथ उपनिर्वाचन गराउने आयोगको तयारी

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने भएको छ ।
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ खाली भएपछि सो स्थानमा पनि एकैदिन उपनिर्वाचन गर्ने तयारी थालिएको हो ।
उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले सोमबार सपथ लिएलगतै आयोगले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण चितवन क्षेत्र नम्बर २ रिक्त बनेपछि आयोगले आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यसूची तय गरिसकेको थियो ।
त्यस्तै आयोगले प्रतिनिधि सभा सदस्य पदको रिक्त रहेको क्षेत्र बारेमा जानकारी लिन संघीय संसद सचिवालयलाई आज पत्राचार गर्ने भएको छ । बेलुकासम्म त्यसको जानकारी आयोगलाई आउने थपलियाले जानकारी दिए । यस्तै आयोगले आज अपराह्न ४ बजे उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको बारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै छ ।

